कीर्तिपुर । न्हूदँ (नयाँवर्ष) हना खलः पांगाले नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत ११४६ को उपलक्ष्यमा आज मंगलबार लक्ष्मीपूजाको दिन न्यू इयर ईभ सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।
यस्तै, पांगामा ने.सं. ११४६ कछलाथ्व पारु (कार्तिक ५ गते) बुधबार विहान ७ बजे पांगाको ध्वाकासि टोलबाट नयाँवर्ष ११४६ को स्वागत एवं सांस्कृतिक उत्सवको आयोजना गर्ने भएको छ ।
पांगामा यस वर्षको नेपाल संवत ११४६ नयाँवर्ष आयोजना गर्ने पालो पांगा ध्वाखासि टोलबाट हिसि मिसा पुचः, ध्वाखासि बिचाः गुथि, ध्वाकासि दाफा खलःको संयुक्त आयोजनामा हुने भएको छ ।
ने.सं. ११४६ न्हूदँ (नयाँवर्ष) हना खलःका संयोजक मनदेवी महर्जनद्वारा हस्ताक्षरित सार्वजनिक भएको पत्रमा नेपालको परिचायक तत्वमध्ये नेपाल संवत पनि एक भएको उल्लेख गर्दै नेपाल संवतको संरक्षण एवं सम्बद्र्धनका साथै विकास गर्ने हाम्रो कर्तव्य भएको जानकारीका साथ यसै विषयलाई मध्यनजर गर्दै पांगामा पनि प्रत्येक वर्ष विगतदेखि हालसम्म धुमधामका साथ नयाँवर्ष उत्सव मनाउँदै आइरहेको जानकारी दिएको छ ।
संयोजक मनदेवी महर्जनले नयाँवर्ष उत्सव बृहत्त रुपमा मनाउन सम्पूर्ण जनसमुदायको सहयोगको आवश्यक हुने भएकोले सबैको सामूहिक कार्यक्रमलाई सफल पार्न सहयोगको अपेक्षा पनि पत्रमा गरिएको छ ।
आज कार्तिक ४ गते मंगलबार लक्ष्मीपूजाको दिन पांगाको ध्वाकासि टोलमा सन्ध्याको ५ बजेदेखि नयाँवर्ष विविध सांस्कृतिक कार्यक्रमको आयोजना हुँदैछ ।