काठमाडौं । कान्तिपथस्थित निर्वाचन आयोगको सभाकक्षमा निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । उक्त बैठकमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन् । आउँदो फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बैठकमा बोलाएको हो । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरू उक्त बैठकमा सहभागी छन् । अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोकिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि तत्कालीन प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ । आगामी निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तर्गत गरिरहेका कामबारे दलहरूलाई जानकारी गराउने र दलहरूको सुझाव लिने उद्देश्यले बिहीबारको छलफल आयोजना गरिएको हो ।
फागुन २१ गते हुने निर्वाचनको विषयमा सर्वदलीय बैठक सुरु
