हेटौंडा – बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाइँलाई बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा पत्र बुझाएका छन् ।
गत भाद्र २४ गते जेनजीहरूको आन्दोलन चर्किएपछि सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेश सभामुख पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन । सभामुख पाठकले यसअघि नै राजीनामा घोषणा गरे पनि कानूनी प्रक्रिया पुरा गर्न अनुकूल नभएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उल्लेख गरिएको छ, “नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु।”
सभामु ख पाठकले राष्ट्र रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।
भाद्र २४ गते राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमती प्रदेशको सभामुख बनेका थिए ।
जेनजीहरूको आन्दोलन चर्किँदा २४ भदौमा उनी काठमाडौं थिए । आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरणलगायत जलेर ध्वस्त भएका छन् ।
राजीनामा दिए बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले
