काठमाडौं–भाद्र २३ र २४ गतेको जेन–जी युवापुस्ताको आन्दोलनबाट देशमा सत्ता परिवर्तन भएको छ ।
गैरदलीय सरकारको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । यो अन्तरिम सरकारको म्याण्डेट आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो । सरकारया मन्त्रीहरुले पनि आफूहरुको प्रमुख ध्येय नै निर्वाचन गराउनु भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
जेन–जीको भदौ २३ र भदौ २४ गतेको आन्दोलनका कारण पुराना दल र यसका नेतृत्वहरु विस्थापित गरिनुपर्ने आवाज उठेको छ । आन्दोलनको क्रममा पुराना दलका शीर्ष नेताहरु नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर आफ्नो ज्यान जोगाउन सफल भए भने निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अझै सार्वजनिक भएका छैनन् ।
भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर ओली सेनाको सुरक्षाभित्र बसेका थिए । ओलीले आफू शिवपुरीमा सेनाको उच्च सुरक्षा घेराभित्र रहेको भनेर जानकारी गराएका थिए ।
यता नेपाली कांग्रेसका सभापति एवं पटकौं पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा भने आन्दोलनकारीको निर्मम कुटाईबाट घरमै सख्त घाइते भएका थिए । देउवा दम्पत्तिलाई नेपाली सेनाले रेस्क्यु गरेर उपचार गराईरहेको छ । उनीहरुको अझै एक साता उपचार जारी रहने भनिएको छ ।
कांग्रेस नेताहरुले सभापति दम्पत्तिको स्वास्थ्य अवस्थाबारे निरन्तर अपडेट लिइरहेका छन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भने असोज १ गते बुधबारबाट सार्वजनिक भई सक्रिय भएका छन् । प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडा पुगेर तोडफोड र आगजनीमा परेको पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।
यता भने, नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनताकाका प्रधानमन्त्री केपी शर्मा ओली भने पार्टीका दोस्रो तहका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेको बताईन्छ । ओली कहिले सार्वजनिक हुने भन्नेबारे हालसम्म पनि स्पष्ट भनिएको छैन । सेनाकै घेराभित्र केपी शर्मा ओली बसिरहेका छन् ।