18.9 C
Kirtipur
Friday, September 19, 2025

ध्वस्त कीर्तिपुर नगरपालिका अब त्रिविको भवनमा सारिने !

Must read


कीर्तिपुर–जेन–जी युवापुस्ताले भाद्र २३ गते भ्रष्टाचारको अन्त्य, सरकारद्वारा सामाजिक संजालमा लगाइएको प्रतिबन्ध एवं प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको माग राखी गरिएको शान्तिपूर्ण आन्दोलन हिंसात्मक एवं उग्र रुप लिएपछि अकल्पनीय मानवीय क्षति भएको थियो । उक्त अकल्पनीय मानवीय क्षतिका कारण आक्रोशित भएका जेन–जी युवापुस्ताले भाद्र २४ गते देशका विभिन्न क्षेत्रमा तोडफोड एवं आगजनी गरेका थिए ।

सोही तोडफोड एवं आगजनीमा कीर्तिपुर नगरपालिका भवन पनि चोखो रहन सकेन । उक्त नगरपालिका तोडफोड एवं आगजनीका कारण पूर्ण रुपमा ध्वस्त हुन पुग्यो ।

हाल कीर्तिपुर नगरपालिकाले आफ्नै लगानीमा निर्माण भएको कीर्तिपुर नगरपालिका १० वडा खेलकुद मैदानसंगैको पर्यटन केन्द्रको भवनबाट दैनिक कार्य एवंप्रशासन संचालन गरिरहेको छ ।

नगरपालिका स्रोतका अनुसार, कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ताँल्चा परिसरमा रहेको एक भवन लिइ कीर्तिपुर नगरपालिका कार्यालयको रुपमा स्थापित गर्ने योजना रहेको छ । उक्त भवन प्रयोगका लागि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरसंग कीर्तिपुर नगरपालिकाको छलफल पनि हुन लागेको जानकारी नगरपालिका स्रोतले दिएको छ ।

कीर्तिपुर नगरभित्रका सचेत व्यक्तित्व एवं विश्लेषकहरुले त्रिभुवन विश्वविद्यालयको उक्त भवन कीर्तिपुर नगरपालिकाले प्रयोग गरेको खण्डमा समग्र कीर्तिपुरका बासिन्दाहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।

पूर्ण रुपमा आगजनीबाट ध्वस्त कीर्तिपुर नगरपालिकाको भवन अब दिगो एवं बलियो नहुने भएकोले कीर्तिपुर नगरपालिका भवन रहेको जग्गा पहिले कीर्तिपुरको ऐतिहासिक एवं पुरातात्विक पोखरी रहेको र अब यदि नगरपालिका भवन भत्काउनै पर्ने स्थिति आए पहिलेको ऐतिहासिक पोखरीको रुपमा रुपान्तरण गर्नुपर्ने धारणा पनि कीर्तिपुरका बासिन्दाले राखेका छन् ।

कीर्तिपुर नगरभित्रका सचेत व्यक्तित्वहरुले त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरका अधिकांश बासिन्दाहरुको जग्गा अधिग्रहण गरी वि.सं. २०१३ सालमा त्रिवि खडा गरियो । हाल त्रिविले अधिग्रहण गरेका सम्पूर्ण जग्गा उपभोग गर्न नसकेको कारण अब कीर्तिपुर नगरपालिकाको भवन त्रिवि परिसरभित्रको जग्गा लिई निर्माण गर्नुपर्ने धारणा पनि राखेका छन् । यस विषयमा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलको पनि सहमति रहेको स्रोतले जनाएको छ ।

तस्बिर : दुर्गालाल शाही

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article