23.5 C
Kirtipur
Friday, September 19, 2025

रुसमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प

Must read

७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प रूसको पूर्वी कामचाट्का प्रायद्वीपमा गएको छ । गएको साउन दोस्रो सातामा पनि रुसकै कामचाट्का प्रायद्वीपमै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

पेत्रोपाभ्लोभ्स्क–काम्चाट्का क्षेत्रको पूर्वतर्फ १२८ किलोमिटर टाढा र समुद्री सतहभन्दा १० किलोमिटर तल शुक्रबार बिहानको भूकम्पको केन्द्रबिन्दु रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले कामचाट्का प्रायद्वीप नजिकै थप पाँच वटा पराकम्पन गएको चेतावनी दिएको छ । ती ४० मिनेटभित्रै ५.१ देखि ५.८ म्याग्निच्युडका पराकम्पन थिए ।

रूसको सरकारी भूकम्पीय सेवाको स्थानीय शाखाले भने भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड भएको अनुमान गरेको छ । यसले पनि कम्तीमा पाँच वटा पराकम्पन गएको जनाएको छ ।

उक्त क्षेत्रमा सुनामी चेतावनी जारी भएको पुष्टि कामचाट्का क्षेत्रका गभर्नर भ्लादिमिर सोलोडोभले गरेका छन् र स्थानीयलाई सचेत गराइएको तर अहिलेसम्म कुनै क्षतिको खबर नभएको बताएका छन् ।

गभर्नर सोलोडोभले भनेका छन्, ‘आज बिहान फेरि पनि कामचाट्काका बासिन्दाको धैर्यताको परीक्षा लिइँदैछ, म सबैलाई शान्त रहन आग्रह गर्छु ।’

भूकम्पपछि अमेरिकी राष्ट्रिय मौसम सेवाले सुनामी आउनसक्ने चेतावनी जारी गरेको थियो । यस संस्थाले एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने समुद्री किनारहरूमा सुनामीको लहर आउन सक्ने अनुमान गरेको थियो । तर होनोलुलुमा एक घण्टा लामो प्रारम्भिक मूल्यांकनपछि हवाईका अधिकारीहरूले ‘ध्वंसात्मक खालको सुनामी’ आउने खतरा नरहेको घोषणा गरेका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले पनि ‘समुद्री सतहमा हल्कामात्र परिवर्तन’ भएको बताएको छ । यसले दिएको सुनामी पूर्वानुमान क्षेत्र जापानको पूर्वी होक्काइदोदेखि ताइवानको पूर्वमा पर्ने ओगासावारा टापुहरूसम्म थियो । भूकम्पको शक्तिशाली धक्कापछि स्थानीय बासिन्दा घरबाहिर निस्किएर सडकमा भागेका थिए ।

गएको साउन दोस्रो साता गएको ८.८ म्याग्निच्युडको भूकम्प विश्वको छैटौं शक्तिशाली थियो । यसको प्रभावपछि रूस, अमेरिका, जापान र चिलीजस्ता देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए । जापानले आफ्नो फुकुशिमा परमाणु रिएक्टर खाली गराएको थियो र लाखौं मानिसहरुलाई घर खाली गर्न आदेश दिइएको थियो । त्यसको चार दिनपछि ५०० वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको अधिकारीहरूले बताएका थिए ।

जुलाई महिनामै कामचाट्का नजिकैको समुद्रमा ६ वटा शक्तिशाली भूकम्प आएका थिए । तीमध्ये दोस्रो ठूलो भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड थियो ।

सन् १९५२ नोभेम्बर ४ मा कामचाट्कामा ९ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यसले केही ठाउँमा ९.१ मिटर अग्ला छालहरू उठाएको थियो, तर त्यस घटनामा कसैको मृत्यु भने भएको थिएन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article