काठमाडौं÷मन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताले कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ भनेका छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वका सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिँदै आफूले गल्ती नै नगरेको ठोकुवा गरेका छन् ।
मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउने क्रममा गुप्ताले कहिले काहीँ “नखाएको विष पनि लाग्दो रहेछ” भनेर भावनात्मक कुरा लेखेका छन् । मन्त्री गुप्ताले आफूमाथि लागेको अनुसन्धान गरी सत्य, तथ्य बाहिर ल्याउन सहयोग गर्नको लागि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको पनि स्पष्ट पारेका छन ।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो फेसबुक वालमा लेखेका छन– बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम “घुस डिल” संगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिले काहिँ नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजिनामा गरेको छु ।
प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्म बिभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेसम्पूर्णलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीबोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताका साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।