22.3 C
Kirtipur
Saturday, March 15, 2025

नेवारहरुको संस्कृतिविरुद्ध कतै नियोजित षड्यन्त्र त भइरहेको छैन ?’´सुनिल प्रजापति, प्रमुख— भक्तपुर नगरपालिका

Must read



नेवारहरु संस्कृतिमा अत्यन्त सम्पन्न जाति हो । भाषा र संस्कृति नै जातजातिको पहिचान हुने गर्छन् । नेवार जातिको एकतालाई छिन्नभिन्न पार्न अहिले नजानिँदो तरिकाबाट संस्कृतिमाथि आक्रमण गरिँदै छ । एक वर्ष होइन, ४।५ वर्षदेखि निरन्तर दशैं र तिहारमा नेवार समुदायबिच अन्योल हुने गरेको छ । यो जानीजानी नेवार समुदायको संस्कृतिलाई ध्वस्त पार्न खोजिएको देखिन्छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा लक्ष्मीपुजा, म्हा पुजा र किजा पुजा (भाइटिका) किन फरक फरक दिनमा हुन्छ ? तीन वटै जिल्लामा तलेजु छन् । ती सबै ठाउँमा एकै दिन किन चाड मान्ने व्यवस्था हुन सकेन ? कहाँनेर हाम्रो कमजोरी भयो ? भक्तपुरमा तलेजु र नवदुर्गाले जुन दिन पुजा गर्छन् त्यही दिन सम्पूर्ण जनताले पूजा गर्ने परम्परा छ । यो काठमाण्डौ र ललितपुरमा पनि त हुन्थ्यो होला । यो तिहारमा मात्र होइन, दशैंमा पनि यस्तै फरक फरक दिन हुने गरेको छ । त्यसैले जनतालाई कुनै किसिमको अलमल नहोस् भनी भक्तपुर नगरपालिकाले तलेजुका ज्योतिष, जोशी, आचाजु, शर्मालगायत सरोकारवालाहरुको बैठक राखी निर्णय गर्ने गर्दै आएको छ । यो कतै नेवार समुदायबीच फुट ल्याउने नियोजित षड्यन्त्र त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ । अब नेवारहरुले रिटपूर्वक छुट्टै पात्रो बनाउनु पर्ने अवस्था आएको छ । अन्यथा हरेक वर्ष यस्ता अन्योलहरु व्यहोरिरहनु पर्नेछ । नेवारहरुको संस्कृतिमा एक रुपता ल्याउन नेवारहरु मिलेर नै अघि बढ्नु पर्ने अबस्था छ ।
नयाँ वर्ष मनाउँदै गर्दा देशको कुनै पनि क्षेत्र राम्रो छैन । देशको आर्थिक, सांस्कृतिक र सामाजिक स्थिति खराब हुँदै गएको छ । देशको सार्वजनिक ऋण २५ खर्बभन्दा बढी छ । राजश्व संकलनले कर्मचारीलाई तलब खुवाउन पुग्दैन । विदेशको ऋण तिर्नु ऋण लिनु पर्ने अवस्था छ । तीन खर्ब विकास बजेट भएको देशले ऋण तिर्न वर्षको तीन खर्ब ७८ अर्ब छुट्याउनु पर्छ ।
सरकारले युवाहरुलाई रोजगारी दिन सकेको छैन । दैनिक हजारौं युवाहरु रोजगारीको निम्ति विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य छन् । युवाहरु देशमै बसेमा आन्दोलन र विद्रोह गर्छन् भनेर शासक दलहरु डराएर युवाहरुलाई विदेश धपाउँदैछन् । ती ७०।८० लाख विदेशिएका युवाहरुले रगत र पसिनासित साटेर ल्याएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलिरहेको छ । देशमा उत्पादन छैन । वार्षिक १४ खर्बभन्दा बढी व्यापारघाटा छ । यस्तो देश कसरी विकास हुनसक्छ ?
केही दिन अघि हाम्रा अर्थमन्त्रीले उद्योगधन्दा सरकारले चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा लगाउनुपर्छ भने । अहिले देशका महŒवपूर्ण उद्योगहरु उदयपुर सिमेन्ट कारखाना, हेटौडा सिमेन्ट कारखाना, गोरखकाली टायर उद्योग, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखानालगायत नौवटा उद्योगहरु निजीकरण गर्ने चाँजो मिलाउँदै छ । तीमध्ये एउटै उद्योगको सम्पत्ति पनि खरबौं रुपैंयाँको छ । मन्त्रीहरुसँगको मिलेमतोमा व्यापारीहरुले ती कारखानाहरु केही करोडमा हात पार्ने कोशिस गर्दै छन् । २०४६ सालपछि नेपाल सरकारको स्वामित्वमा रहेका करिब तीन दर्जन कलकारखानाहरु कौडीको मूल्यमा सरकारले बिक्री गर्यो । यसले देशको अर्थतन्त्र पाइला पाइलामा निजीको नाउँमा विदेशी दलालहरुको नियन्त्रणमा पुग्यो । अहिले देश झन् झन परनिर्भर हुँदै गएको छ ।
अहिले शिक्षा क्षेत्र भद्रगोल छ । विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विदेश पढ्न जाने सोच बनाउँछन् । कक्षा १२ मा २ लाख विद्यार्थी उत्तीर्ण भएकोमा आधा जति विदेशै जान्छन् । साउनदेखि असोजसम्म तीन महिनामा २७ हजार विद्यार्थी विदेश गएको तथ्यांक छ ।
नेपालमा उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठान समेत गरी २३ वटा जति छन् । त्यस अन्तर्गतको १४५० भन्दा बढी कलेजहरु छन् । ती कलेजहरुमध्ये धेरै वटा कलेजहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारले नेपालमै सजिलै पढ्न पाइने विषयहरु विदेशमा अध्ययनको लागि पठाउन बन्द गर्नुपर्छ । शिक्षाको लागि मात्रै वर्षको एक खर्बभन्दा बढी रकम बाहिरिएको देखिन्छ । यो सबै शासक दलहरुकै कारण भएको हो । यसमा सुधार ल्याउन जरुरी छ ।
हामीले ख्वप विश्वविद्यालय स्वीकृतिको लागि माग गरेको एक दशकभन्दा बढी समय भयो । ख्वप विश्वविद्यालय विधेयक शिक्षा, अर्थ, कानुन मन्त्रालय हुँदै पुनः शिक्षा मन्त्रालयमै पुगेको सुन्दैछौं । नेपाल संवत् ११४५ नयाँ वर्षमा ख्वप विश्वविद्यालय विधेयक पारित हुने आशा गर्छौं ।
हाम्रा कलेजहरुमा चाहेर पनि विद्याथीैको चाहनाअनुसार नयाँ नयाँ विषयहरु पढाउन पाएका छैनौं । त्रिभुवन विश्वविद्यालयले नगरपालिका∫ारा संचालित कलेजहरुमा नयाँ विषयको स्वीकृति नै दिएको छैन । पुराना विषयहरुमा आजका विद्यार्थीहरुको आकर्षण कम हुँदै छ । तर विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा हजारौं विद्यार्थी पढाउँदैछन् । मासिक लाखौं शुल्क लिएर पढाउने कलेजहरु पनि काठमाडौंमै छन् । त्यो हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । त्यसता कलेजहरुका कारण हाम्रा सबै पैसा बाहिर जान्छन् । विद्यार्थीहरुको चाहनाअनुसार नयाँ नयाँ विषय पठनपाठनकै लागि पनि ख्वप विश्वविद्यालय सञ्चालन आवश्यक भएको हो ।
स्वास्थ्य क्षेत्र पनि त्यस्तै छ । देशको ठूलो र सुविधा सम्पन्न वीर अस्पताल ९ सय शैय्या मध्ये ७ सय शैय्यामात्र सञ्चालनमा रहेको स्वयम् अस्पतालका निर्देशकको भनाइ छ । उनी जनशक्तिको अभावमा पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको लाचारी व्यक्त गर्छन् । तर हाम्रा स्वास्थ्यमन्त्री भने स्वास्थ्यमा ठूलो सुधार ल्याउने प्रचार गर्दै हिँडेका छन् । सरकारका १०० दिनमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी रु. ५ लाख पु¥याउने उनको घोषणा पानीको फोका सावित भयो । उनले विगतको बाँकी भुक्तानी पनि दिन सकेका छैनन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालकै २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्यो भने पाटन र वीर अस्पतालमा पनि समस्या भएको बताइरहेको छ । निजी अस्पतालहरुमा पनि बीमाको बन्दोबस्त गरेको कारण समस्या भएको हो । देशभरिका अवस्था के होला ? जस्तोसुकै समस्या भए पनि ख्वप अस्पताल देशमा स्वास्थ्य सेवा प्रदान गर्ने ४८३ अस्पतालहरुमध्ये उत्कृष्ट ७ तौं स्थानमा पर्न सफल भएको छ ।
अहिले इजरायलले प्यालेष्टाइनी भूमिमाथि वर्ष दिन अघिदेखि आक्रमण गरेको विषय पनि अन्तर्राष्ट्रिय जगतमा चर्चाको विषय छ । हिजो मात्रै इजरायली सेनाले ८० जनाभन्दा बढी प्यालिस्टाइनी जनताको हत्या गर्यो । गाजा क्षेत्र झण्डै भग्नावशेषमा परिणत भइसक्यो । संचार माध्यमकाअनुसार अहिलेसम्म ४३ हजारभन्दा बढीको ज्यान गएको र लाखौं मानिसहरु घाइते भएको तथा लाखौंको संख्यामा घरवारविहीन भएका छन् । विद्यालय, कलेज, अस्पतालहरु सबै जसो ध्वस्त भएका छन् । यी सबै अमेरिकी साम्राज्यवादको साथ र सहयोगमा भइरहेको हो । तर प्यालेष्टाइनी जनता आफ्नो मातृभूमिको निम्ति अलिकति पनि विचलित नभई लडिरहेका छन् । अन्तिम व्यक्ति बाँकी भएसम्म लड्ने प्यालेष्टाइनी जनताको देशभक्तिपूर्ण भावनाबाट हामीले सिक्नुपर्छ । देशको निम्ति लड्ने वीर प्यालेष्टाइनी जनताप्रति अहिले विश्वका न्यायप्रेमी जनताले ऐक्यबद्धता प्रकट गर्दैछन् । हामी पनि ऐक्यबद्धता प्रकट गर्छौं । नेपाल संवत ११४५ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध सशक्त रुपमा लड्ने वर्षको रुपमा रहने विश्वास गर्छौं ।
(नेपाल संवत ११४५ को अवसरमा मिति २०८१ कार्तिक १७ गते विविध भाषा साहित्य समाजद्वारा मध्यपुरमा आयोजित २६ औं विविध भाषा साहित्य सम्मेलनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार संक्षेप)

स्रोत :भक्तपुर नगरपालिका

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article