मस्काे । रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझैपनि युक्रेनको विषयमा वार्ता गर्न तयार रहेको बताएका छन् ।
क्रेमलिन निकट न्युज आउटलेट रिया नोभोस्ती र आरटीले लाभ्रोभको भनाइ उद्धृत गर्दै बताएका छन्, “हामी पश्चिम जगतसँग तनाव घटाउनेबारे वार्ता गर्न तयार छौँ । रुसको नेतृत्व, विशेषगरी पुटिन अझै युक्रेनकाे बारेमा वार्ता गर्न तयार छन् । विगत छ महिनाभित्र अमेरिकीलगायत केही अन्य पश्चिमी सहकर्मीहरूले रुसी नेतासँग फोन वार्ता गर्ने पहल गरेका थिए । केही विदेश मन्त्रीहरूले पनि पुटिनसँग त्यस्तै प्रकारका अपिल गरेका थिए र उनले सदैव सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए । बरु पुटिनले बारम्बार रुसले कहिल्यै पनि वार्ताको प्रस्ताव अस्वीकार नगरेको र नगर्ने बताउँदै आफ्ना पश्चिमी प्रायोजकहरूको प्रत्यक्ष निर्देशनमा युक्रेनले वार्ता अस्वीकार गरेको आरोप लगाएका थिए ।”
तर, लाभ्रोभको भनाईले पुटिन युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की वा पश्चिम जगतसँग वार्ता गर्न तयार रहेको स्पष्ट गरेको छैन । २७ अक्टोबरमा मस्कोमा बसेको भाल्दाइ अन्तर्राष्ट्रिय छलफलको पूर्ण सत्रमा पुटिनले ढिलो वा चाँडो पश्चिम जगतले समानताको आधारमा वार्ता सुरु गर्नुपर्ने बताएका थिए ।
यसैबीच रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको वार्ताको आधार अमेरिकाको रुसको सुरक्षाको ग्यारेन्टी प्रस्तावबारे सुन्ने इच्छामा भरपर्ने बताएका छन् ।