बैशाख ६ गते
ऐतिहासिक नगर कीर्तिपुरको राजदरवार लायकू रहेको क्षेत्रको अमुर्त संस्कृति जोगीचक्र पुजा हो । लायकू दरवार क्षेत्रको जीवन्त अमुर्त संस्कृतिको रुपमा रहेको जोगीचक्र पुजा विभिन्न कारणले स्थागित भइरहेको अवस्थामा सो पर्व पुनःसंचालनका लागि नेवाः देय् दबू कीर्तिपुर नगर वडा नं. १ समितिले कीर्तिपुर नगरपालिका वडा नं. १ कार्यालयमा पत्र दिएको छ ।
बैशाख ५ गतेको दिनमा नेवाः देय् दबू कीर्तिपुर नगर वडा नं. १ समितिका सचिव भुवन महर्जनले दिनु भएको पत्रमा यस्तो कुरा उल्लेख गरिएको छ ‘लायकू दरवारको मण्डपमा कीर्तिपुर दरवारलाई लक्षित गरी प्रतिवर्ष बैशाखमा जोगीचक्र पुजा हुने गरेको कुरा वितितै छ । उक्त पुजा मल्लाकालीन परम्परा भएको र शदिीऔंदेखि चलीआएको तथ्य पनि यहाँलाई निवेदन गर्न चाहन्छौं । गुठी संस्थानको लगत नं. वटुक ३०९ अन्तर्गत यस पुजाका खातिर १३–१२–० क्षेत्रफलको जग्गा पनि व्यवस्था रहेको कुरा जानकारी गराउँदछु । केहि बर्षदेखि गुठी संस्थानले दीर्घकालीन आयको व्यवस्था रहेतापनि यो पुजाका खातिर आवश्यक सामग्री र खर्च छुट्याउन छाडी पुजा हुन गर्न बन्द गरेको छ । मल्लाकालीन संस्कृतिकोरक्षा गर्दै कीर्तिपुर दरवारको अमूर्त सम्पदाका रुपमा रहेको यस पुजालाई जीवन्त राख्न यहाँको वडाबाट गुठी संस्थामा आवश्यक पहल गरी आगामी बैशाख १५ गते हुनुपर्ने यस पुजा संभव तुल्याइदिन हुन अनुरोध छ ।’
उक्त मा कीर्तिपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जनले आवश्यक कारवाहिका लागि सचिवकोमा पठाइसकेको देखिन्छ । अतः उक्त संस्कृतिका सवालमा अव कसरी अगाडी बढ्छ भन्ने सबैको चासोको विषय बनेको छ ।
