नेपालभाषा एकेदेमि तथा काठमाडौं महानगरपालिकाको संयुक्त प्रकाशनको रुपमा तयार भई नेवाः सांस्कृतिक ज्ञानकोश शुक्रबार सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल तथा नेपालभाषा एकेदेमिका कुलपति यज्ञरत्न धाख्वाःको सभापतित्वमा संचालन भएको उक्त ज्ञानकोश सार्वजनिकीकरण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विधागत विज्ञ पाँच जना अतिथिहरु नेवाः पहिचानबाट जनकवि दुर्गालाल श्रेष्ठ, संस्कृति एवं सम्पदाविज्ञ यज्ञमानपति बज्राचार्य, भाषा लिपि एवं साहित्यविद् सुवर्णकेशरी चित्रकार, नाट्य संगीत एवं बाजाविद् श्रीगोपाल प्रजापति तथा शिल्प प्रविधि एवं ज्ञानविद् क्रोधकला शिरोमणि कालु कुमाले उपस्थित हुनुभएको थियो । उक्त सांस्कृतिक ज्ञानकोश नेपालकै सर्वप्रथम प्रकाशित ज्ञानकोश भएको तथा यस्ता संग्रह अब अन्य क्षेत्रबाट पनि ज्ञानकोशको रुपमा प्रकाशन गरी हाम्रो ऐतिहासिक गौरवलाई लिपिबद्ध गरी लैजानु पर्ने विषयका विभिन्न विचारहरु कार्यक्रममा सार्वजनिक भएको छ । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले यस ज्ञानकोश प्रकाशनलाई पाँच अमूल्य मणि हो भनी आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका सम्पदा एवं पर्यटन समिति संयोजक आशामान संगतले स्वागत गर्नुभएको थियो भने कार्यक्रममा नेवाः सांस्कृतिक ज्ञानकोश परियोजनाका संयोजक एवं नेवाः अगुवा मल्ल के सुन्दरले ज्ञानकोश भित्र समावेश भएका विभिन्न पक्षको विषयमा चर्चा परिचर्चा गर्नुभएको थियो । यही क्रममा नेपालभाषा एकेदेमिका सदस्य सचिव डा. पुष्पराज राजकर्णिकार, काठमाडौं महानगरपालिका सम्पदा एवं पर्यटन विभाग संयोजक कुमारी राई तथा अन्य व्यक्तित्वहरुले विभिन्न विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँहरुले सार्वजनिक भएको ज्ञानकोश भनेको समस्त नेवाः समुदायको पहिचान र परिचय भएको खुलासा गर्नुभएको थियो । जनकवि दुर्गालाल श्रेष्ठ, साहित्य एवं संस्कृतिविद् शाक्य सुरेन, बौद्ध विद्धान यज्ञमानपति बज्राचार्य, संस्कृतिविद् डा. चुन्दा बज्राचार्य एवं साहित्यकार तथा समाजसेवी सुवर्णकेशरी चित्रकार, प्रा. प्रेमशान्ति तुलाधर, श्रीगोपाल प्रजापति, त्रिरत्न मानन्धर एवं विश्व शाक्यबाट ज्ञानकोश संग्रह हस्तान्तरण गर्नुभएको थियो भने सदस्य सचिव डा. प्ुष्पराज राजकर्णिकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नेपालभाषाका विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नेपालको ऐतिहासिक पहिलो ज्ञानकोश सार्वजनिक
