– ललेन्द्र शाक्य
काठमाडौं÷हालै मात्र नेपाली संगीत जगतका चर्चित गायिका लसता जोशीको एल.जे. इन्टरटेन्टमेन्टको अथक प्रयासबाट स्वयं लसता जोशी एवं गायक अमर चित्रकारको स्वर समाहित नेपालभाषाको ‘मतिनाया खँ’ बोलको नेपालभाषा लोक–दोहोरी गीत म्यूजिक भिडियोको रुपमा सार्वजनिक भइसकेको छ र चर्चाको शिखरमा दौडिरहेको पनि छ निरन्तर दर्शकमाँझ लोक प्रियताको पाईला चुम्दै ।
चर्चित ‘थ्व जोवन छंगु लागि खः…’, ‘जिन्दगी ब्यूम्ह द्यः…’ इत्यादी लोक–दोहोरीका सर्जक विष्णु सक्वको संगीतमा सजिएको ‘मतिनाया खँ’ नेपालभाषाको लोक–दोहरी गीत पांगा कीर्तिपुर निवासी लोककवि राजभाई जकःमिद्वारा रचिएको गीत हो । यो गीत लोककवि राजभाई जकःमिको एकल रचनामा रिलिज भएको “ज्यापु स्वाँ” नामक सिडि एल्बम भित्रको गीत हो भने एल्बममा यस ‘मतिनाया खँ’ गीतको शीर्षक ‘यज्जुलानी’ राखिएको छ । यस गीतलाई चर्चित संगीतकर्मी सुमन कपालीले संगीत संयोजन गर्नुभएको छ भने रिकर्डिष्टको रुपमा बरिष्ठ संगीतकर्मी विरेन शाक्यले भूमिका निभाउनु भएको छ ।
हालै रिलिज भएको चर्चा एवं लोकप्रियताको शिखरमा सल्बलाउँदै गरेको ‘मतिनाया खँ’ नेपाल भाषा लोक–दोहोरी गीतको विषयमा गीतकार लोककवि राजभाई जकःमि भन्नुहुन्छ, “यो मतिनाया खँ गीत मेरो एकल रचनाको एल्बम ज्यापु स्वाँभित्रको गीत हो । यो एल्बम १३ वर्ष अगाडि ने.सं. ११३१ (वि.सं. २०६८) तिर रिलिज भएको हो । त्यो बेला यस गीतको म्यूजिक भिडियो बनाउन सकिनँ । हाल आएर यस गीतकी गायिका लसता जोशीको प्रयासबाट म्यूजिक भिडियोको
रुपमा सार्वजनिक भएको छ । खुशी छु म, दर्शकहरुले पनि यस गीतलाई माया गरिरहनु भएको छ । मेरो विचारमा मतिनाया खँ अर्थात् यज्जुलानी गीतले १३ वर्षपछि न्याय पाएको भन्न चाहन्छु र महसुस गर्दछु म ।”
नेपालभाषा देशको राष्ट्रिय भाषाको रुपमा स्थापित भइसकेको भाषा हो । यस भाषाभित्र ऐतिहासिक उच्चस्तरीय साहित्य, संगीत सिर्जनाहरु भेटाउन सक्छौं । पछि आएर देशको शासन सत्ता सम्हाल्ने क्रममा नेपालभाषीहरु मात्र नभई देशका अन्य आदिवासी जनजातिहरुको भाषा संगीतलाई एकल जातीयवादले आफ्नो पैंतालामुनि राखिएको कारण ती भाषा र संगीतहरु अँध्यारो कुनामा थुन्न बाध्य भए र गराए । यदि राष्ट्र र शासकहरुले देशका सम्पूर्ण भाषा, संगीत राष्ट्रको गहना र अमूल्य सम्पत्ति हुन् भन्ने भावनालाई कदर गरिदिएको भए ‘मतिनाया खँ’ नेपालभाषा लोक–दोहोरी जन मानसमा भिज्न १३ वर्ष कुर्नु नपर्ने थियो । एकल जातिको हैकमवादका कारण कैयौं आदिवासी जनजातिभित्रका उत्कृष्ट साहित्य, संगीत, साधकहरु विना पहिचान माटोमुनि विलिन भइरहेको अवस्था छ । ‘मतिनाया खँ’ गीत पनि स्वयं गायिका लसता जोशीले म्यूजिक भिडियो निर्माण गरी जनमानसमा नल्याएको भए यो गीत पनि माटोमुनि विलिन हुने अवस्थामा पुग्थ्यो होला सायद ।
‘मतिनाया खँ’ नेपालभाषा लोक–दोहोरी गीत, संगीत एवं गायन पक्ष उत्कृष्ट त छँदैछ । यस गीतको म्यूजिक भिडियो पनि उच्चस्तरीय प्रविधिबाट निर्माण भएको छ भने निर्माण पक्ष एवं म्यूजिक भिडियोका कलाकारहरुले जीवन्तता प्रदान गरिएको छ । यस गीतको म्यूजिक भिडियोमा मुख्य कलाकारको रुपमा अहिलेका चर्चित कलाकार मनोज महर्जन तथा गायिका लसता जोशीकी सुपुत्री लुमिला जोशीले जीवन्त अभिनय गर्नुभएको छ ।
गायिका लसता जोशीको प्रयासबाट म्यूजिक भिडियो निर्माण भएको नेवाः लोकदोहोरी “मतिनाया खँ” चर्चाको शिखरमा
