दर्शन वचत तथा ऋण सहकारी संस्था लि.को कीर्तिपुर ९ वडा नगाउँस्थित कार्यालय तथा सबै सेवा केन्द्रबाट केही दिनदेखि सेवा बन्द भएको थियो । यसरी संस्था बन्द भएको कारण शेयर सदस्य, शुभेच्छुकमा पर्न गएको असुविधाप्रति संचालक समितिले माफी मागी एक प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक भएको विज्ञप्तिमा निरन्तर देशमा बढ्दो आर्थिक संकटका बीचमा पनि सेवा नियमित संचालन गरिरहेको र अहिले कार्यालय र सेवा केन्द्रबाट कामकाज बन्द गरिए पनि सहकारी संस्था आन्तरिक छलफल तथा निरन्तर बचत फिर्ताको लागि आन्तरिक तयारी गरिरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा देशमा आर्थिक तरलता अभाव बढ्दै जाँदा देशैभरका सहकारी संस्था, वित्तीय संस्थाले ठूलो नोक्सानी बेहोर्नु परेको जग जाहेर छ भन्दै उक्त संस्थामा आबद्ध सम्पूर्ण शेयरधनी वचतकर्ताहरुको वचतको जिम्मेवारी संस्थाको उत्तरदायित्व भएको कारणले निरन्तर वचतकर्ताहरुको निक्षेप सुरक्षित गर्ने विषयमा गम्भीर भएको उल्लेख गरिएको छ ।
दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारी हस्ताक्षरित उक्त सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, “अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सबै शेयर सदस्य, निक्षेपकर्ता, शुभेच्छुकमा धैर्य गर्न आग्रह गर्दछु । सहकारी संस्थामाथि सबैतिरबाट आक्रमण, बार्गेनिङ गर्ने जस्ता कार्यहरु बढ्दो छ । हामी निश्चिन्त छौं, वचतकर्ताको रकममाथि कुनै खेलवाड गर्न सक्दैनौं । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र, सहकारी संस्थाहरुको अवस्थालाई केही व्यक्तिबाट कमाउने धन्दाको रुपमा लिएको हुँदा हामी कुनै सम्झौता गर्न सक्दैनौं । हाल बजारमा सहकारी संस्था सधैंको लागि बन्द हुने, सहकारी संस्था संचालक फरार हुने भन्ने जस्ता हल्ला चलाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समय विभिन्न मिडियाले हाम्रो बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गर्ने, अन्तरवार्ताको लागि ताकेता गर्ने, फोन नउठाउँदा फरार भनेर समाचार प्रकाशन गर्ने जस्ता गम्भीर आरोेप लगाउने कार्यहरु तीव्र रुपमा बढेकोले त्यसमा समेत हाम्रो ध्यानाकर्षण भएको छ ।”
दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा जेष्ठ ३० गते बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गरी जेष्ठ ३१ गते बिहिबारदेखि बन्द भइरहेको संस्थाको कार्यालय सुचारु संचालन गर्ने जानकारी दिएको छ ।
सार्वनिक भएको विज्ञप्तिमा भनिएको छ, “संस्था र संस्थाको संघर्ष समितिका सदस्यहरु, मध्यस्तकर्ताको समन्वयमा मिति २०८१ जेष्ठ ३१ गते बिहिबारबाट कार्यालय संचालन गर्ने सहर्ष जानकारी सम्पूर्ण शेयरधनी वचतकर्ता महानुभावहरुलाई गराउन चाहन्छु । संस्थामा कार्यरत केही जिम्मेवार पदको कर्मचारीले राजीनामा दिएको हुँदा आगामी बस्ने संचालक समितिको बैठकमा यस विषयमा निर्णय गर्ने भएकोले सम्पूर्ण कर्मचारीहरुलाई संस्था खोलिने दिनबाट संस्थामा उपस्थित हुनको लागि समेत यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछु । कथंदाचित पुरानो कर्मचारीहरु उपस्थित नभएमा पनि कार्यालय संचालनको लागि नयाँ नियुक्तिबाट पदपूर्ति गरि संचालन गर्ने जानकारी गराउन चाहन्छौं ।”
वार्ता र सहमतिबाटै सम्पूर्ण कुराको समाधान हुने कारणले सम्पूर्ण आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सदस्यहरु र अन्य सदस्यहरुलाई आगामी दिनहरुमा वार्ताबाट नै समाधानको निकास निकाली अगाडी बढ्न अनुरोध गर्दै सार्वजनिक भएको विज्ञप्तिमा आगामी कार्य योजनामा दर्शन साकोस संस्थाको संचालक समितिले दिनुपर्ने सम्पूर्ण तथ्यांकहरु संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश रजिष्ट्रार कार्यालयबाट माग भई आएमा पेश गर्ने जानकारी गराएको छ ।
दर्शन साकोसद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “हाल केही चल सम्पत्ति विक्रीबाट आएको रकम संस्थाकै खातामा रकम जम्मा भई सकेको जानकारी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश सरकारको रजिष्ट्रार कार्यालय र संघर्ष समितिलाई गराइसकेको व्यहोरा सबैलाई अनुरोध छ । अन्य चल सम्पत्ति पनि विक्री हुँदै गएपछि सोही खातामा जम्मा गर्दै जाने बचनबद्धता पनि संचालक समितिले सम्पूर्ण शेयरधनी वचतकर्ताहरुमा व्यक्त गर्न चाहन्छौं साथै संचालक समितिका सदस्यहरुको नाममा रहेको अचल सम्पत्तिहरुको विक्री तथा व्यवस्थापनको लागि कमिटी बनाई यथासिघ्र कार्य अगाडी बढाउनको लागि संचालक समिति सम्पूर्ण शेयरधनी वचतकर्ताहरुलाई अनुरोध गर्दछौं । यसरी जम्मा भएको रकमहरु प्रदेश रजिष्ट्रार कार्यालय, संघर्ष समितिको प्रतिनिधिको रोहवरमा अब बनाउने कार्य योजना अनुसार वितरण गर्ने सम्पूर्ण शेयरधनी वचतकर्ता महानुभावहरुमा यसै विज्ञप्तिबाट जानकारी गराउन चाहन्छौं ।”
सार्वजनिक गरिएको प्रेस विज्ञप्तिको अन्तिममा दर्शन साकोस संस्थामा हाल उत्पन्न भएको विषम् परिस्थिमिा सहजता गर्न मध्यस्तकर्ता भई प्रत्यक्ष अप्रत्यक्ष कार्य गर्नुभएका सम्पूर्ण विशिष्ट महानुभावहरुलाई धन्यवाद समेत दिइएको छ ।
