विश्लेषण : ललेन्द्र शाक्य
कीर्तिपुर/मंसीर ४ गते नजिकिदै छ, देशको महासंग्राम पर्व आमनिर्वाचनको लहर देशैभर तरंगित छ । चन्द्रागिरी, दक्षिणकाली र कीर्तिपुर नगरपालिका समाहित काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रको चुनावी माहौल अरु क्षेत्रहरुमा भन्दा पनि विशेष रुपमा रौनकता भरिने दाबी राजनीतिक विश्लेषक एवं सचेत मतदाता नागरिकहरुले विभिन्न आँकलनका साथ गरिरहेका छन् । काठमाडौं १० नम्बर क्षेत्रमा ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेभित्र विभिन्न विषयमा आन्तरिक कलहले स्थान लिइरहेको अवस्था छ र आफ्ना कार्यकर्ताहरुबीच असन्तुष्टिका खुड्किलाहरु झन् झन् थप हुँदै गइरहेको अवस्था छ । पार्टीभित्रको आन्तरिक कलहका कारण कांग्रेस र एमालेका उम्मेदवारहरुको मन मस्तिष्कमा ‘धिमेबाजा’ बज्न थालेका छन् । कांग्रेसबाट असन्तुष्टिका कारण छुट्टिएर बीपी कांग्रेसबाट पनि काठमाडौं १० नम्बर क्षेत्रमा प्रतिनिधि र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् भने कांग्रेसबाटै अलग्गिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारप्रदीप विष्ट भिड्न मैदानमा उत्रेका छन् । नेपाली कांग्रेसबाट बीपी कांग्रेस र प्रदीप बिष्ट मात्र हैनन् कार्यकर्ताहरु पनि असन्तुष्टिको सीमारेखामा रेखांकित भएका छन् आफ्ना उम्मेदवारको हैकमबादका कारण । यो हिसाबले काठमाडौं १० नम्बर क्षेत्रमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार राजन केसी लगायत प्रदेशसभाका उम्मेदवारहरु ‘रेड जोन’मा परेको आँकलन राजनीतिक विश्लेषकहरुको रहेको छ कि ती असन्तुष्टि पक्षको भोट कहाँ जाला ? भन्ने तिर । यस्तै एमाले पार्टीभित्र पनि थुप्रै आन्तरिक कलह उब्जेका कारणबाट असन्तुष्टि पक्षको भीडभाड देखिन थालेका छन् । काठमाडौं क्षेत्र नम्बर १० मा एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हिमेश केसी पनि ‘रेड जोन’मा परेको विश्लेषकहरु भन्छन् । कांग्रेसका दिग्गज एवं माहिरउम्मेदवार राजन केसीको अगाडि एमालेका उम्मेदवार हिमेश केसी कच्चा खेलाडीका रुपमा रहेको जिकिर एमालेका कोही कोही सचेत कार्यकर्ता एवं शुभचिन्तकहरुले गरेका छन् । यो हिसाबले राजन केसी ढुक्क छन् कि हिमेश केसीबाट आफू अगाडी रहेकोमा । राजनीतिक विश्लेषकहरुले यदि यस क्षेत्रबाट एमालेले सुरेन्द्र मानन्धर या रमेश महर्जनलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको भए राजन केसीलाई ‘हम्मे हम्मे’ हुने तिखो विश्लेषण पनि गरेका छन् । राजनीतिक विश्लेषकहरुका अनुसार, नेपाली कांग्रेसभित्रका असन्तुष्टि पक्षको भोट यसपाली राजन केसीलाई नजाने र नेकपा एमालेका असन्तुष्टि पक्षको भोट पनि एमालेका हिमेश केसीलाई नजाने आँकलन गरेका छन् । आखिर, मंसीर ४ को निर्वाचनमा दुबै पार्टीका ती असन्तुष्टि पक्षको भोट कहाँ जाला ? भन्ने तर्कवितर्कको लहर उब्जिरहेको अवस्था छ काठमाडौं १० नम्बर क्षेत्रमा । स्रोतका अनुसार, काठमाडौं १० नम्बर क्षेत्रको चोभारतिर, बीपी कांग्रेसबाट प्रदेशसभा ‘क’का प्रदेशसभा सदस्य उम्मेदवार जयराम कार्की र नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार राजन केसीलाई भोट जाने भएका छन् भने यसबाट कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार पुकार महर्जन ‘रेड जोन’मा परेको आभाष हुन थालेको छ । यस्तै प्रतिनिधिसभा सदस्य उम्मेदवारमा बीपी कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तप्रसाद श्रेष्ठले काठमाडौं १० नम्बर क्षेत्रको थानकोट एरियाबाट अधिकांश मत लिने आँकलन राजनीतिक विश्लेषकहरुले गरेका छन् भने यस आँकलनबाट राजन केसी उक्त क्षेत्रमा ‘रेड जोन’मा परेको ठम्याई विश्लेषकहरुको रहेको छ । यस्तै, नेपाली कांग्रेस पार्टी बाटै असन्तुष्टिबाट बाहिर निस्की राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधिसभा सदस्य उम्मेदबार भएका १० नम्बर क्षेत्रको कीर्तिपुर नगरपालिका ४ वडाका प्रदीप विष्टले पनि उक्त वडाबाट भारी मत प्राप्त गर्ने आँकलन विश्लेषकहरुको रहेको छ । यसबाट पनि कांग्रेसका राजन केसीको भोट उतारचढाव हुने देखिने तर्क विश्लेषकहरुले राखेका छन् । समग्रमा भन्नु पर्दा, कांग्रेसबाट असन्तुष्टि पक्षको भोट अन्य दल र स्वतन्त्र उम्मेदवारहरुमा बाडिने आँकलन पनि विश्लेषण भएको देखिन्छ । यस हिसाबले यसपालीको चुनाव नेपाली कांग्रेसलाई चुनौतीको रुपमा रहेको देखिन्छ । अब रह्यो, नेकपा एमालेका असन्तुष्टि पक्षको भोट कहाँ जाला ? भन्नेतिर । स्रोतका अनुसार, काठमाडौं क्षेत्र नम्बर १० मा एमाले कमजोर बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र काठमाडौं ९ नम्बर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार कृष्ण गोपाल श्रेष्ठको डिजाइन भएको र उक्त डिजाइनमा १० नम्बर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार हिमेश केसी फसेको खुलासा पार्टीभित्रका सचेत कार्यकर्ता एवं विश्लेषकहरुले गरेका छन् । स्रोतकै अनुसार, १० नम्बर क्षेत्र कांग्रेसका राजन केसी र ९ नम्बर क्षेत्रका एमालेका कृष्णगोपाल श्रेष्ठको ‘मिलेमतो’ स्वरुप ९ मा श्रेष्ठ र १० मा केसी जिताउने अभियान रहेको खुलासा पश्चात् यस क्षेत्रमा एमालेभित्र वैचारिक एवं आन्तरिक कलह उब्जेको र असन्तुष्टि सिर्जित भएको भन्छन् । यसबाट एमालेभित्रका असन्तुष्टि पक्षको भोट नेकपा माओवादी केन्द्रतिर समाहित हुने आँकलन पनि विश्लेषण गरेका छन् । जीत–हार चुनावपछि तय हुनेछ, प्रतिक्षा गरौं चुनावी परिणाम ।