15 C
Kirtipur
Tuesday, November 29, 2022
- Advertisement -spot_img

धनकी देवी लक्ष्मीको विलाप

Must read

– विपेन्द्र महर्जन
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँका बासिन्दाहरू धनी हुनु, गरिब हुनु, सम्पन्न हुनु, विपन्न हुनु, रोगी हुनु, निरोगी हुनु सबै देवताकै कृपा हो र देवताकै इच्छाबाट हुन्छ भन्ने कुरामा विश्वास राख्दथे । त्यसैले त्यस गाउँका सबै मानिसहरूले देवता मान्ने मात्र होइन कि अनेक प्रकारले देवताको पूजा गर्ने, अनेक जात्राहरू पनि चलाई आएका थिए । देवताको आशिर्वाद पाउन देवतालाई खुशी पार्न ।

त्यस गाउँमा धनका देवता पनि मान्दथे । उनीहरू धनका देवता लक्ष्मीलाई मान्दथे । जुन घरमा लक्ष्मीको बास छ त्यो घरको मानिस धनि बन्छ, सम्पन्न हुन्छ भन्ने सबैमा विश्वास थियो त्यसैले धनका देवता लक्ष्मीको पूजामा त्यहाँका मानिस सबै लागिपरेका थिए । उनीहरूले वर्षको एकदिन त विशेष रूपमा लक्ष्मीको पूजा गर्ने पर्व नै चलाएका थिए । त्यहाँ भव्य रूपले दीपावली पनि गरिने चलन थियो ।

त्यहाँका धनीहरूले आफ्नो घरमा लक्ष्मीको बास छ भनि गफ गर्दै अरूहरूलाई काममा लगाउँदथे । गरिबहरू आफ्नो घरमा पनि लक्ष्मीको बास रहोस् भनि पूजाआजा गरी धर्म गर्दथे । ती मध्ये एकजना मानिस त्यहाँ रहेको सबै देवताका मन्दिरहरूमा गई भक्तिपूर्वक पूजा नगरी नखाने गर्थे । त्यसैले सबैले उनलाई धर्मात्मा भनि भन्दथे धर्मात्मा भन्दाभन्दै उनको नाउँ नै धर्मात्मा रहन गयो । ती धर्मात्माले धनका देवी लक्ष्मीको पनि विशेष रूपले आराधना गर्ने गर्दथे ।

एकदिन लक्ष्मी पूजाको पर्वमा सबै घरघरमा दिपावली मनाइरहेका थिए । धर्मात्माले पनि दिपावली मनाएपछि आफ्नो स्वास्नीसँग बसी लक्ष्मीको बारेमा गफ गर्दै भन्दै थिए– “हाम्रो घरमा लक्ष्मीको बास भए हामी पनि धनाढ्य हुनेछौं, मिठोमिठो खाने छौं, अहिलेको भन्दा राम्राराम्रा लुगा र किमती गहनाले तिमी सिंगारिन पाउने छौं । म त त्यसै धर्मात्मा उसै धर्मात्मा, तिमी त भाग्यमानी बन्नेछौं ।” यस्तै कुरा भइरहेको बेला घरको ढोका टक…टक… गरिएको आवाज आयो ।
“ए ! बुढी ! रातको समयमा पनि ढोकामा टक टक गरेछ को आएको हेर त जाऊ” भनि स्वास्नीलाई धर्मात्माले अ¥हाए ।
“नाई मलाई डर लाग्छ रातमा” स्वास्नीको कुरा सुनेर धर्मात्मा आफै उठी ढोका खोल्न गए । “बाहिर को हो ?” भनि ढोका के उघारेको थिए, उसले ढोकाको ठिक अगाडी राम्रो लुगा लगाएकी, गहनाले सिंगारिएकी एउटी सुन्दरी केटी उभिरहेको
देखें ।

“तपाईं को हो ? कहाँबाट पाल्नु भएको ?” भनि नरम स्वरले धर्मात्माले सोधे ।
“मलाई चिन्नु भएन ? तिमीले मेरो आराधना गरिआएको धेरै वर्ष भइसक्यो, त्यही सम्झेर म यहाँ आएकी हुँ, धनका देवी लक्ष्मी भन्ने मै हुँ, तिम्रो घरमा बास बस्न आएकी” भनि अरु कुरा के भन्न लागेकी थिई धर्मात्मा प्रसन्न भई स्वास्नीलाई बोलाउँदै– “हाम्रो घरमा धनका देवी लक्ष्मी पाल्नु भएको छ तुरुन्त जलकलश र पूजा सामाग्री लिई आऊ” भनि भने ।
हत्तरपत्तर सर–सामाग्री बोकी स्वास्न्ी पनि आइपुगी । लोग्ने स्वास्नी दुवैजना मिलि लक्ष्मीको स्वागत गर्दै घर भित्र्याए र कोठामा आसन मिलाए र लक्ष्मी देवी पनि प्रसन्न भई आसनमा विराजमान हुनुभयो । रातको समय भएकोले देवीसंग अनुमती मागी छुट्टिनु भयो ।

सँगैको कोठामा धर्मात्माले स्वास्नीलाई हौसला दिदै भनिरहेका थिए– “अब हाम्रो घरमा लक्ष्मीको बास भएको छ, अब कुनै वस्तुको पनि हाम्रो घरमा कमि हुने छैन । जस्तोसुकै आपत्ति आई परेपनि दुःख आइपरे पनि धनद्वारा समाधान गर्न सकिने भयो । काम गराई फाइदा लिएर पनि हामीप्रति इष्र्या र द्वेष राख्नेहरू र हामीलाई काम लगाई आएकाहरू अब निरास हुने भए” यस्तै गफ गरेको बेला फेरि ढोकामा टक टक गरेको आवाज आयो । फेरी को आयो हेर्न जाऊ भनी स्वास्नीलाई अ¥हाइन् । खुसी भएकी स्वास्नी पनि अल्छी नमानी भन्नासाथ उठेर ढोका खोल्न गईन् ।

ढोका के खोलिएको थियो खाना नपाएको जस्तो चाउरी अनुहार, शरीर गन्हाउने, झुत्रो लुगा लगाएकी हेर्दैमा अशुभ लाग्ने जिग्रिङ्ग कपालकी एउटी आइमाई हस्याङ्ग फस्याङ्ग गर्दै घरभित्र पस्न खोजे । स्वास्नी चाहिले दुवै हातले ढोका छेकी कराउन थालिन्– “तँ को हो ? जर्वजस्ती अर्काको घरमा पस्न खोज्ने”, भनि हप्काउन थालिन् ।

“म दरिद्रकी देवी हुँ, तिम्रो घरमा बास बस्न आएकी” भनि ती आइमाईले नरम बोलिमा जवाफ दिइन् ।
हाम्रो घरमा लक्ष्मीको बास छ, दरिद्रलाई यहाँ बास छैन र दिन्न पनि” भनि स्वास्नीचाहिँ हप्काई रहिन् ।
आज एकरात मात्र भए पनि बास दिनुस् भनि ती दरिद्र देवीले आग्रह गरिरहिन् तर स्वास्नी चाहिँले झन् ठूलठूला स्वरले गाली गर्दै भित्र छिर्न खोजेकी ती आइमाईलाई रोकि राखिन् ।
ढोकामा कराइरहेको आवाज सुनेकी सँगै कोठामा बसिरहेकी लक्ष्मीको जिज्ञासा आयो– “ढोकामा के भएको छ हेर्नुस्
त ?”
लक्ष्मीका जिज्ञासा सहितको कुरा सुनेपछि धर्मात्मा पनि हत्तरपत्तर उठेर गई स्वास्नी कराइरहेको ढोकामा पुगेर किन कराई रहेकि भनि सोध्यो ।
“लक्ष्मीको बास रहेको हाम्रो पवित्र घरमा यी दरिद्र देवी भन्ने घरभित्र जबर्जस्ती गरी छिर्न खोजिरहेकी देख्नु
भएन ?” भनि कराउन थालिन् ।
धर्मात्मा र उनकी स्वास्नी दुवै मिलेर ती दरिद्रकी देवी भन्नेलाई घोक्रोमा समाती अलि पर सडकमा छाडि फर्कि
आए । धर्मात्मा र उनकी स्वास्नीको यस्तो व्यवहार सहन नसकि ती दरिद्र देवी ठूलो स्वरले रोएर थपक्क फर्केर अर्कै बाटो लागिन् ।
रोएको आवाज सुनेकी लक्ष्मीले धर्मात्मालाई बोलाई “बाहिर के भो ? को रोएको ?” भनि सोध्नुभयो ।
त्यस्तो केही होइन हजूर ! हजूर जस्तोको बास रहेको यो घरमा दरिद्रकी देवी भन्ने हेर्दा नै अशुभ लाग्ने एउटा फोहरी आइमाई जबर्जस्ती घरभित्र पस्न खोजेकोले हामी दुवैजना मिलेर उनीलाई निकाली पठाई सक्यौं हजुर, चिन्ता नमानि आरामसँग राज हुनुहोस् भनि दुवै हात जोडि बिन्ति गरे उनीहरूले ।
के ………. रे ………….. दरिद्रकी देवी ! ?
हो हजूर !
“अहो …….. तैंले त बित्यास पारिस् । हामी दुई बहिनी हौं, कहिल्यै पनि छुट्टिएर हामी बस्दैनौं । यहाँ म आएको उनलाई थाहा थियो त्यसैले उनी यहाँ आएकी हुन्, अब रोएर उनी कहाँ गई होलिन् ? उ अब यहाँ आउने छैन । अब उनी जहाँ गइन् म पनि त्यही जानुपर्छ । छुटेर नबस्ने हाम्रो कबुल थियो । अब म यहाँ बस्न सक्दिन ।”
“तिमीहरूको उद्धार गर्न हामी यहाँ आएका हौं तर तिमीहरू त स्वार्थी रहेछौं, यहाँका साहु, महाजन कहलिएका सामन्तहरूझैं तिमीहरू पनि समानता नचाहने प्रवृत्तिका रहेछौं र अरूलाई दुःख दिई आफूमात्र सुखी र सम्पन्न भैरहन चाहँदो रहेछौं । गरिब असहाय दुःखिहरू प्रति रत्तिभर पनि दयामाया नराख्ने रहेछौं । यस्तो घरमा लक्ष्मीको बास हुनु दुर्भाग्य हो । तर अफसोच छ शान्ति समानताका भावना जगाइ दिने मजस्तो लक्ष्मीको बदनाम गरी यहाँका साहु र सामन्तहरू मेरो घरमा लक्ष्मीको बास छ भन्दै दुष्प्रचार गरी रहेको कति दिन सहेर बस्ने । दुःखीजनहरूलाई सचेतना दिउँ भनि यस घरमा आएको त यिनी पनि सामन्त प्रवृत्तिका रहेछन्” भन्दै आँखाबाट आँसु झार्दै धर्मात्माको घरबाट लक्ष्मी पनि विलाप गर्दै बाहिर निस्कदै आफ्नो बाटो लागे । अस्तु । २०६४ जेठ, हिमपात मासिकबाट

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article