18 C
Kirtipur
Tuesday, November 29, 2022
- Advertisement -spot_img

विजय प्रतीकको पर्व ‘मोहनी नख’

Must read

काठमाडौं । ‘मोहनी नख’ अर्थात् दशैं। नेवार समुदायमा दशैंलाई मोहनी नख भन्ने चलन छ। नेवार समुदायले ठूलो महत्त्वका साथ मनाउने अन्य पर्वबाहेक मोहनी नख पनि एक हो। सामान्य भाषामा मोहनी भन्नाले मोहनी लगाउनु, मन्त्रमुग्ध बनाउनु वा आफ्नो बनाउनु भन्ने बुझिन्छ। 

संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार नेवा धार्मिक सांस्कृतिक जीवनमा दशैंलाई मोहनी नख भन्ने गरिन्छ। जसले दशैंलाई नै अर्थ्याउने गर्छ। 

दशैंलाई नेवा सम्प्रदायले किन ‘मोहनी नख’ भन्छन् 

श्रेष्ठ भन्नुहुन्छ, “अष्टमी नवमी दशमी अर्थात् महासरस्वती, महालक्ष्मी र महाकाली यी तीन उच्चतम तान्त्रिक देवताको स्वरूपमा नेवार समुदायमा अष्टमीको दिन मोहनी अर्थात् माटोको भाँडामा बत्तीबाट बनाइने गाँजल वा कालो टीका थाप्ने चलन छ।”

“अष्टमीको दिन थापेको मोहनी टीका दशमीको दिन आफूलगायत सम्पूर्ण आफन्तलाई लगाउने चलन छ। नेपाली राष्ट्र जीवनले यसलाई दशैं भन्छन् भने नेवा राष्ट्र जीवनले यसलाई यस अर्थमा मोहनी भन्ने गरिन्छ।”

मोहनी टिका नेवार जातीको तन्त्र प्रधान मिश्रित धर्मको एक विशेषता रहेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ। जसले सुख, शान्ति, समृद्धि, सुरक्षालगायत विशेषगरी विजयको प्रतीकको रूपमा लगाइने टिकाको रूपमा लिने गरिन्छ। 

यसैगरी, विजया दशमीको दसौं दिनमा गैर नेवार जीवनमा लगाइने रातो टिका पनि विजयको प्रतीक नै हो। उहाँ भन्नुहुन्छ, “कालो र रातो टिका दुवै विजयको प्रतीक हो। हाम्रो परम्परा र अभिलेखहरूमा भएअनुसार युद्ध र विजयको चर्चा धेरै ठाउँमा भएको पाइन्छ। शत्रुहरूसँग विजय प्राप्त गरेको खुसीयालीमा लगाइने टिका नै मोहनी र रातो टीका हो।” 

उहाँका अनुसार, नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको रूपमा अनन्तकालदेखि नै रहिआएको छ।

दशैं मनाउने चलन कसरी रहन गयो भन्ने विषयमा उहाँ भन्नुहुन्छ, “परापूर्वकालमा स्थायी सेना थिएन। भाइभारदार सारा जनता नै सेनाको रूपमा परिचालित हुने युग थियो। जहाँ हरेक जात र धर्म संस्कृतिका नेपाली देशबासी सैनिक अभ्यासका लागि सहभागी हुन्थे। जसकारण वर्षमा एक पटक भए पनि हातहतियारको प्रयोग गर्ने चलन छ। दशैंमा हतियारको प्रयोग हुन्छ, रगतको खोला बग्छ त्यसकारण दशैं भनेको हतियारको प्रयोग गरी गरिने युद्ध अभ्यास हो। जसमा खड्गचालनको चलन पनि पुरानो हो।”

“नेपाल सार्वभौमसत्ता सम्पन्न रहिआएको देश हो, परापूर्वकालमा देश र जनताको  रक्षाको रूपमा अपरिहार्य रूपमा दशैं मनाउने चलन सुरु गरिएकोसमेत भन्न सकिन्छ,” उहाँले भन्नुभयो। 

लिच्छवी कालका अभिलेखमा युद्धका बारेमा र मूर्तिकलामा पनि दुई हजार वर्ष पुरानो मैसासुर र दुर्गा भवानीका मूर्ति प्राप्त गर्न सकिन्छ जस आधारमा दशैं दुई हजार वर्षअघिदेखि मनाउने चलन सुरु भएको भन्न सकिने श्रेष्ठको भनाइ छ। 

श्रेष्ठका अनुसार दशैं हिन्दुहरूको मात्र होइन। यो सम्पूर्ण नेपालीले मनाउने ठूलो पर्व हो। यसको इतिहास बुझ्ने हो भने जुनसुकै जात धर्म र संस्कृतिका मानिसले आफ्नो देश रक्षाका लागि दशैं पर्व अँगालेको देखिन्छ।  

यसबाहेक, दशैंमा गाडीहरूको पूजा गर्ने आधुनिक संस्कृति भएको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यो पनि शक्ति नै हो। खड्ग शक्तिको प्रतीक हो। शक्ति भनेको देवी हो र देवी संसारको सबै स्त्री जाति हुन्। महादेवको शक्ति पार्वती हो। शक्ति बिनाको शिव शव हो। दशैं वा मोहनी नख शक्ति उपासनाको एक चरम लोकप्रियताको एक सुन्दर उदाहरण हो।”

“रातो शक्तिको प्रतीक भएजस्तै सेतो शिवशक्ति वा प्रकृति पुरुषको प्रतीक हो। शिव सेतो र पार्वती रातोको प्रतीक हो। त्यसैले नेपालका विभिन्न जातजातिले दशैंमा सेतो टीकासमेत लगाउने चलन छ”, उहाँले भन्नुभयो। 

त्यसैले दशैंको मूल सार नै रातो र कालो टीका हो। हामीभित्र रहेको दानवी शक्तिलाई तिलाञ्जली दिएर विजय प्राप्तिको रूपमा पनि यस चाडलाई लिन सकिने श्रेष्ठ बताउनुहुन्छ। यद्यपि कतिपय जातिले भने सेतो टीकासमेत लगाउने चलन छ।

मोहनी थाप्ने भन्ने चलन छ : संस्कृतिविद् गुरुङ

यस्तै, संस्कृतिविद् जगमान गुरुङका अनुसार ‘मोहनी नख’ मोहनी टीका अर्थात् कालो टीकासँग जोडिएको छ। उहाँ भन्नुहुन्छ, “नेवारी परम्परा तन्त्रप्रधान छ। कालो र सिन्दूरको टीका शक्ति आर्जनका लागि लगाइएको भन्न सकिन्छ। कालो टीका लागापछि बोक्सी र भूतप्रेतको नजर लाग्दैन भन्ने चलनसमेत छ। रोग र शत्रु नलागोस् विघ्न बाधा शान्त होउन् भनेर दुर्गा भवानीलाई बालेको बत्तीको गाजलको टीका लगाइन्छ जसलाई मोहनी थाप्ने भन्ने चलन छ। 

त्यसकारणले नेवार समुदायले दशैंलाई नेपाल भाषामा मोहनी नख भन्ने गरिन्छ। 

यस्तै, नेवार समाजमा मोहनी वा दशैंको टीका लाउन आफन्त वा चिने–जानेकाको घरमा जाने चलन भने छैन। तर, नखःत्या जाने भनेर आफन्तले भोज खान बोलाएपछि मात्रै जाने चलन रहेको छ। नेवा समुदायमा नखःत्या चतुर्दशीका दिनसम्म चल्छ। त्यही दिन जमरा, उखुको बोट, फूल आदि दशैंमा चलाइएका अन्य सम्पूर्ण वस्तुलाई पूजा कोठाबाट निकालेर (घरको मूल दैलो) मा राखेर मोहनी नख समापन गर्ने चलन रहेको छ। सनम महर्जन, गाेरखापत्र

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article